बालविवाह सामाजिक अपराध भएकाले अभिभावक नै बढी सचेत हुर्नुपर्ने

काठमाडौ । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा पछिल्लो समय बालविवाह रोक्नका लागि सक्रियताका साथ लागी परेका छन् । नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना समेत बनाउन थालेको छ ।

चन्दननाथ नगरपालिका ९ का वडाध्यक्ष मीनबहादुर डाँगीले बालविवाह दिनहु दिन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । अब कानूनीरुपमा संयन्त्र निर्माण गरेर न्यूनीकरणमा सबै जुट्नुपर्ने बेला आएको बताए । वडाध्यक्ष डाँगीले भने, बालविवाह सामाजिक अपराध भएकाले अभिभावकहरु नै सबैभन्दा बढी सचेत हुनुपर्छ ।” उमेर नपुग्दासम्म बिहेवारीको विषय उठान गर्न नहुने वडाध्यक्ष डाँगीले बताए ।

जुम्लामा सबैभन्दा बढी बालविवाह चन्दननाथ नगरपालिकामा भएको देखिएको छ । नगरपालिकामा १९० वटा बालविवाह भएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जानकारी गराएको छ । नगरपालिकाले बालविवाह रोक्न सचेतनाका कार्यक्रम अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले जानकारी दिइए । आगामी दिनमा हरेक योजना निर्माणमा बालबालिकाको प्रत्यक्ष सहभागिता गराएर बालविवाहका बारेमा जानकारी गराउने नगरपालिकाले जानकारी गरएको छ ।