प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । मुगुमा प्रमुख प्रशासकीय अधिकुत र अध्यक्षसहित पाँचजना कर्मचारीविरुद्ध भ्रष्टाचारी मुद्दा दायर गरेको छ । मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारूसहित पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पैदल बाटोमा पक्की सिँढी निर्माण गर्दा वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई भ्रष्टाचार गरेको हुँदा आयोगले मुद्दा दायर गरेको हो

प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारू, असिस्टेन्ट सब–इन्जिनियर हस्त बहादुर मल्ल, इन्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्ना देवी हमालविरुद्ध २९ लखा ७७ हजार ८ सय २१ रुपैयाँ ११ पैसा मागवादीसहित आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष मल्ल र कोषाध्यक्ष हमालले वास्तविक रूपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी माग गरेकोले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन् ।

नगरपालिकाले वडा नं २ स्थीत अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माणको कार्यमा असिस्टेन्ट सब–इन्जिनियर हस्त बहादुर मल्ल र इन्जिनियर महेश सिंह कठयताले फिल्डमा कम काम भएको हुदा बढी काम भएको भनी नापी किताबमा मूल्यांकन गरी गलत सिफारिस गरेको र प्रमुख प्रशासकीय अधिकृत सारूले सही गरेको आयोगले जानकारी गराएको छ ।