आचारसंहिता विपरित कार्यक्रममा सहभागी, प्रधानमन्त्री देउवाविरुद्ध भरतपुरमा उजुरी

काठमाडौँ । वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ठुलादलहरु बाटै आचारसंहिता विपरित कार्यक्रमहरु भईरहेको छ । चितवनको भरतपुरमा निर्वाचन आचारसंहिता विपरित कार्यक्रममा सहभागी हुन खोजेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ।

भरतपुरमा बिहीबारको चुनावी आमसभालाई लिएर प्रधानमन्त्री देउवाविरुद्ध उजुरी दर्ता भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले अधिवक्ता सुनिता अधिकारीले देउवाविरुद्ध उजुरी दिएको बताएका छन् । यो विषयमा निर्वाचन आयोगलाई पनि जानकारी गराइएको अधिवक्ता अधिकारीले बताए ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफैँ उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न नहुने र प्रचार प्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ। तर, प्रधानमन्त्रीले नेताको मात्र हैसियतमा सरकारी सम्पत्तिको प्रयोग नगरी प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगका अधिकारीले बताएका छन् ।

बिहीबारर भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न चितवन आउन लागेका देउवाविरुद्ध उजुरी दर्ता भएको निर्वाचन कार्यालयले जानकारी गराएको छ ।