मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका १ स्थित राजबिराज, तिलाठी सडकखण्डमा मोटरसाइकले ठक्कर दिदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ । मुृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका १ का ४३ वर्षीय सतिषकुमार यादव रहेका छन् ।

तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को१७प ८५६३ नंको पल्सर मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते भएको यादवको आज मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

परीक्षणका लागि शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका १ का २० वर्षीय शङ्कर यादव गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताएका छन् ।