हेलीकप्टरबाट मतदान गर्न डडेल्धुरा पुगे, प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज भएको स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र ख बाट आज बिहान मतदान गरेका छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार मतदानपछि स्थानीय निर्वाचन नै लोकतन्त्रको मूल स्तम्भ भएकाले सहज रुपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताएका छन् ।

प्रधानमन्त्री देउवा सदरमुकामदेखि २४ किलोमिटर दूरीमा रहेको मतदान केन्द्रमा हेलीकप्टरबाट मतदान गर्न पुगेका हुन् । उनी धनगढीबाट मतदान गर्न आफ्नो वडामा आइपुगेका हुन् ।

प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरामा कांग्रेसबाट विद्रोही उम्मेदवारले एमालेसँग तालमेल गरी निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । डडेलधुरामा २ नगरपालिका र ५ गाउँपालिकासहित ७ स्थानीय तह रहेका छन् ।