प्रहरीको कारबाहीमा चार जना मारिए

काठमाडौँ । केन्याको पूर्वी सहरमा बिहीबार भएको एक प्रदर्शनमा प्रहरीले गरेको कारबाहीमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । यहाँको मासिम्बा क्षेत्रमा प्रदर्शनकारीहरुले प्रहरीका विरुद्धमा आन्दोलन गरेका थिए । उनीहरुको भिडलाई रोक्ने क्रममा प्रहरीले गोली चलाऊदा चार जनाको मृत्यु भएको हो ।


गोली लागेर ती आन्दोलनकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सो क्षेत्रमा जंगली जनावरले दुःख दिएपछि त्यसका विरुद्धमा सरकारले कुनै कदम नचालेको भन्दै प्रहरीका विरुद्धमा स्थानीयले प्रदर्शन गरेका थिए ।

प्रहरीले दिएको जानकारीअनुसार हालै सो क्षेत्रमा हात्तीले एकजना स्थानीय शिक्षक मारेको थियो । जंगली जनावरबाट बचाउन सरकारले कुनै कदम नचालेको भन्दै स्थानीय त्यसका विरुद्धमा आन्दोलनमा उत्रिएका थिए । स्थानीयले गरेको आन्दोलनमा अन्य सात जना घाइते भएका थिए । उनीहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ ।