विद्यार्थीलाई दिइने दिवा खाजाको बजेटमा समेत अनियमितता

काठमाडौँ । सरकारले विद्यार्थीलाई दिइने दिवा खाजाको बजेटमा समेत अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा दिवा खाजा कार्यक्रम, निःशुल्क सेनेटरी प्याड, लकडाउनका बेला सञ्चालित अनलाइन कक्षा, स्थानीय तहमा शिक्षक नियुक्तिमा मनोमानी भएको छ । शिक्षक, स्थानीय तह र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले प्रतिविद्यार्थी सरकारले दैनिक उपलब्ध गराउने १५ रुपैयाँमा पनि लोभ गरेका छन् ।

प्रतिवेदनअनुसार देशभरका १९२ स्थानीय तहले विद्यालय बन्द रहेको अवस्थामा पनि दिवा खाजाको ५८ करोड ९७ लाख ९४ हजार खर्च गरेका छन् । वीरगन्ज महानगरपालिकाले विद्यार्थी संख्या र हाजिरीको प्रमाणित अभिलेखबिनै ८७ विद्यालयलाई १ करोड ३८ लाख ९८ हजार निकासा गरेको छ । महालेखाले उक्त रकम बैंकमा रोक्का रहेको अवस्थामा रहेकाले बढी रकम फिर्ता लिन भनेको छ । विद्यार्थी विद्यालयमा उपस्थिति नभएको दिन यकिन गरी खर्च गरिएको रकम असुल्न महालेखाले सुझाव दिएको छ ।

वार्षिक १ सय ८० दिनका लागि संघीय सरकारले अनुदानका रूपमा प्रतिविद्यार्थी १५ रुपैयाँको दरले बजेट स्थानीय तहमा पठाउँछ । महालेखाले विद्यार्थी हाजिर प्रमाणित अभिलेख झिकाई उक्त खर्चको यथार्थ यकिन गरेको छ । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट प्रमाणित विद्यार्थीको दैनिक हाजिरी पुस्तिकाको संख्या यकिन गरी भुक्तानी दिनुपर्ने व्यवस्था छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीको समूह बनाएर वैकल्पिक कक्षा सञ्चालन गर्न बजेट छुट्याएको थियो । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ३३ विद्यालयलाई ३१ लाख र शुक्लाफाँटा नगरपालिकाले ३० विद्यालयलाई २८ लाख ५० हजार रुपैयाँ अनलाइन कक्षामा खर्च गरेको देखाएका छन् । प्रतिवेदनमा भने विद्यार्थीको भौतिक उपस्थितिमै अध्ययनरअध्यापन गराएकामा सीयूजी सेवा प्रयोग गरेको नदेखिएकाले उक्त रकम संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने छ । लकडाउनका बेला सीयूजी सेवाबाट गरिएको अनलाइन पठनपाठनको खर्च पनि अपारदर्शी रहेको महालेखाले औंल्याएको छ ।

महालेखा प्रतिवेदनअनुसार १ सय ५२ स्थानीय तहले अन्तिम चौमासिक अवधिमा प्याड खरिद गरी २२ करोड १७ लाख खर्च गरेका छन् तर त्यसको प्रयोग हुन नसकेर भण्डारण गरिएको छ । नेपालगन्ज उपमहानगरले सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउन १६ लाख मूल्यका ६६ हजार प्याकेट खरिद गरेकामा विद्यालयमा हस्तान्तरण नगरी पालिकामै भण्डार गरेको प्रतिवेदनमा उल्लेख छ । सरकारले छात्रालाई निःशुल्क उपलब्ध गराउने सेनिटरी प्याडमा पनि मनोमानी गरिएको भेटिएको छ ।

२०७८ वैशाख ११ देखि असार मसान्तसम्म विद्यालय सञ्चालन नभएकामा प्रदेश १ का कन्काई, मेचीनगर, दमकलगायत १९ नगरपालिकाले दिवा खाजाबापत ६ करोड ९३ लाख ७० हजार रुपैयाँ निकासा गरेको पाइएको छ । उदयपुरको रौतामाई, झापाको गौरीगन्ज, भोजपुरको अरुणलगायत १८ गाउँपालिकाले विद्यालय बन्द रहेको अवधिमा विद्यार्थी दिवा खाजा कार्यक्रममा ५ करोड ३ लाख ५५ हजार रुपैयाँ खर्च गरेका छन् । महोत्तरीको एकडरा गाउँपालिकाले १ सय १२ दिन मात्र विद्यालय सञ्चालन भए पनि १ सय ८० दिनकै दिवा खाजाको बजेट खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाले विद्यालय बन्द भएको दिन पनि दिवा खाजामा ३७ लाख ६३ हजार खर्च गरेको हो । धनुषाको विदेह नगरपालिकाले २ मदरसालाई दिवा खाजा र शिक्षण सिकाइ रकमको ११ लाख ३ हजार रुपैयाँ भुक्तानी दिएको छ ।

अर्कोतर्फ, देशभरका २ सय ४९ स्थानीय तहले शिक्षक तलबमा ६ करोड ५ लाख ५० हजार रुपैयाँ बढी निकासा दिएको छ । शिक्षा विकास तथा समन्वय इकाइमार्फत विद्यालय शिक्षक किताबखानाबाट तलबी प्रतिवेदन पारित गराएर मात्र तलब भुक्तानी गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहहरूले भने तलबी प्रतिवेदन पारितबिनै, बढी ग्रेड भुक्तानी, दोहोरो निकासा, दरबन्दीभन्दा बढी शिक्षकको तलब निकासा गरेको देखिएको छ ।

ताजा अपडेट