काठमाडौँ उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ता सुरु

निर्वाचन आयोगद्धारा काठमाडौँ उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ता
काठमाडौँ । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

आयोगले उक्त कार्य नमूना परियोजनाका रुपमा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर आजदेखि सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट www.election.gov.np मा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय _हाललाई काठमाडौँ उपत्यकाका तीन जिल्ला) मा अनलाइनबाटै पेश गर्न सकिनेछ ।

सोपश्चात् अनलाइन फाराममा उल्लिखित सङ्केत नं सहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलबाट आज जारी विज्ञप्तिमा जनाइएको छ ।