चालु आवको अन्तिम शेयर कारोबार : नेप्से परिसूचक उकालो यात्रामा

काठमाडौँ । आज चालु आवको अन्तिम शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर २ हजार ९.४६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३८५.९१ मा पुगेको छ ।

नेप्सेका अनुसार २ सय ३१ कम्पनीका ४० लाख ५१ हजार ७ सय ७१ कित्ता शेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८ सय ३३ मूल्यमा कारोबार भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लागेको छ , भने ६ उपसमू ओरालो लागेको छ । बैंकिङ १८.५४, विकास बैंक ५.२४, लघुवित्त ६८.६४, जीवन बीमा ३८.०७ र सामूहिक लगानी कोष ०.२२ अङ्कले उकालो लागेको छ । त्यस्तै व्यापार १२.१६, होटल तथा पर्यटन २०.७७, जलविद्युत् १७.४, वित्त ७.१५, निर्जीवन बीमा ३.३८, उत्पादन १४.८९, अन्य २५.०५ र लगानी ०.६२ अङ्कले ओरालो लागेको छ ।

चालु आवको अन्तिम शेयर कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ६९ अर्ब ३४ करोड ४१ लाख ६६ हजार ९ सय ६२ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १९ करोड ७२ लाख ५४ हजार ८ सय ६४ बराबरको कारोबार गरेको छ । यस्तै एभरेष्ट बैंक ६ करोड ९४ लाख ७१ हजार ५ सय २८, किसान लघुवित्त ५ करोड ५८ लाख २७ हजार, हिमालयन डिस्टिलरी ४ करोड ४८ लाख १६ लाख ४ सय र अरुण काबेली पावर ४ करोड ३३ लाख २४ हजार ७ सय ५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार नेपाल इन्भेस्ट बैंकको ऋणपत्र र माछापुच्छे बैंकको ऋणपत्रको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सानिमा बैंकको ऋणपत्र ९.९८, नबिल ब्यालेन्स फन्ड तेस्रो ९.९१ र एनआइसी बैंकको ऋणपत्रका लगानीकर्ताले ९.८८ प्रतिशतले कमाएका छन् ।