१२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

काठमाडौँ । लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा भएको प्रतियोगितामा दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, नौ रजत र २० कांस्य पदक हात पारेको छ ।

तेस्रो स्थानको सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, नौ रजत र आठ कांस्य पदक जित्यो । ५० स्वर्णका लागि भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५ ५ स्वर्ण हात पारेका छन् । गण्डकीले थप समान ११–११ रजत र कांस्य पनि प्राप्त गरेका छन् । कर्णालीले दस रजत र १५ कांस्य हासिल गरेको छ ।

प्रतियोगितामा चार कीर्तिमान बनेका छन् । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रहयोको छ । निशा चौधरीले मात्र दुई व्यक्तिगत र टिममा कीर्तिमान रचेका छन् । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ अप्रिल २३ मा बनाएको ५.४५ मिटरको राष्ट्रिय कीर्तिमानलाई तोड्नुभयो । एक सय मिटर दौड १२।.३ सेकेन्डमा पूरा गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गरेका छन् । त्यस्तै चार गुणा १ सय मिटर रिले निशाले रेशु थारू, रामकुमारी थारू र सम्झना थारूसंँग मिलेर ५४.२० सेकेन्डको कीर्तिमान बनाएका छन् । छात्र लङजम्पमा सुदीप थारूले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

कुल नगद पुरस्कार राशि ९ लाख पुरस्कार ४५ हजार रुपियाँ रहेको थियो । तीन दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जानकारी दिइएको छ ।