मनाइयो आँसु र हाँसोको सङ्गम सापारु अर्थात् गाईजात्रा

काठमाडौँ । काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ । मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुरमा मुलुकका अन्य भागमा मनाउने भन्दा भिन्न र मौलिक शैलीमा मनाइन्छ ।

भक्तपुरमा गाईजात्रालाई आँसु र हाँसोको सङ्गमको पर्वको रुपमा लिइन्छ । शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ र सन्देश बोकेको पर्वको रुपमा समेत गाईजात्रालाई लिने गरिन्छ ।

भक्तपुरको गाईजात्रा हेर्न उपत्यकाकालगायत बनेपा, धुलिखेल र पनौतीलगायतका सहरबाट समेत हजारौंको सङ्ख्यामा दर्शक आउने गर्दछन् । भक्तपुरको गाईजात्रा विदेशमा समेत प्रख्यात छ । मृतकका घरबाट गाईजात्रा निकाल्दा आफन्तजनले मृतकको सम्झनामा रुनु पर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ विभिन्न खालका हाँस्यव्यङ्ग्य र ख्यालठट्टासहितका झाँकी नगर परिक्रमा गरी भक्तपुरमा गाईजात्रा मनाइन्छ ।

जनै पूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा ओलीले बताए । भक्तपुरमा गाईजात्राको औपचारिक सुरुआत जनै पूर्णिमाको साँझ नै गरिन्छ ।

जनैपूर्णिमाको साँझ शुरु भएपनि सर्वसाधारणले मुख्यरुपमा भाद्र शुक्ल प्रतिपदाको दिन सापारु अर्थात् गाईजात्रा मनाउने गर्दछन् । भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नुअघि प्रतिपदाको दिन बिहान सबेरै दरवार क्षेत्रस्थित तलेजु भवानीको र अन्त्यमा साँझ टौमढीस्थित भैरवनाथको गाईजात्रा निकाल्ने परम्परा रहेको छ ।

भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो भने अर्को आकर्षण मृतकको सम्झनामा नगर परिक्रमा गरिने ताहासा (तहामचा) हो । घिन्ताङघिसी नाचसँगै ताहासालाई परिक्रमा गराए मृतकलाई स्वर्गमा जाने बाटोमा भएका अप्ठ्यारो हट्ने जनविश्वास रहेको छ । घिन्ताङघिसी धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त ताल र लयमा करिब एक हात लामो गोलाकार काठको लट्ठी एकापसमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । घिन्ताङघिसीमा बच्चादेखि वृद्ध सबै सहभागी हुन्छन् ।

गाईजात्रा निकाल्नुअघि ताहासा, डोको, राधाकृष्ण, महादेव पार्वतीलगायत मृतकको प्रतीक जनाउने, गाईलगायतलाई सगुन दिन मृतकको छोरीहरू र क्रियापुत्रलाई पण्डितले पूजा सङ्कल्प गराई श्राद्धकर्मको विधिविधान पूरा गरी गौदान गराइन्छ । यो बेलामा मृतकका घरपरिवारका महिला सदस्यहरू रुने परम्परा छ ।

नेवार समुदायमा सगुन दिँदा रुनु भनेको मृतकप्रतिको सम्मानको रुपमा लिइन्छ । सगुन पूजा सकेपछि काँचो सानो केराउ, नासपाती, काँक्रो लगायत फलफूल र दही चिउरा टोल छरछिमेकमा बाहिर बसेकालाई बाँडिन्छ र बाँसको नोल लगाएर ताहासालाई मृतकका आफन्तले काँधमा बोकेर अगाडि पछाडि पटुका समातेर नगर परिक्रमा गराइन्छ । नगरपरिक्रमा गराउँदा ताहासामा मृतकको तस्बिरले जात्रा हेर्न आएकाहरूलाई कसको ताहासा निकालेको त्यो स्पष्ट हुने गर्दछ ।

नगर परिक्रमा गर्दा क्रियापुत्र, छोरीहरू र मृतकका परिवारका अन्य सदस्य हातमा धुप बालेर जाने परम्परा छ । यसरी गाईलाई परिक्रमा गराउँदा मृतकका परिवारले र स्थानीयहरूले आफ्नो गच्छेअनुसार रोटी, फलफूल, बिस्कुट, दक्षिणा, हरियो केराउ, काँक्रो, नासपाती, जुसलगायत दान दिने परम्परा छ ।

भक्तपुरमा मृतक महिला, पुरुष र बालबालिका को हो, त्यसको स्पष्ट सङकेत दिने गरी गाईजात्रा निकालिन्छ । मृतक बच्चा हो भने डोको, महिला हो भने रातो, नीलो कपडामा सारी र हाकुपटासीसहितको ताहासालाई नगर परिक्रमा गराइन्छ । पुरुष हो भने सेतो कपडाले बेरेको हुन्छ । त्यसैगरी गर्भवती महिलाको हो भने गाईसँगै अलि तल सानो गाई बनाएर लाने परम्परा छ । त्यसैगरी एकापरिवारको दुई सदस्यको मृत्यु भयो भने एउटै ताहासामा तल अर्को सिङ राखेर मृतकको तस्बिरसहित काखमा राखेर ल्याउने परम्परा छ ।

गाईजात्राको दिन विधिवत् रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकका आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वासले गाईजात्रा निकाल्ने गरिएको हो ।

भक्तपुरमा स्थानीय लाकोलाछे टोलबाट भैरवनाथको र खँलाबाट नकिन्जु अजिमाको ताहासा निकालेपछि गाईजात्रा सम्पन्न गर्ने परम्परा रहेको छ । भैरवको ताहासा ल्याउँदा लाकोलाछे टोलमा वर्षदिन दिवङ्गत भएका सबैको ताहासा पनि भैरवको ताहासाँसँग लानुपर्ने चलन रहेको छ । भैरवनाथको ताहासालाई नगर परिक्रमा गराउँदा टौमढी, दरबार क्षेत्र र तचपालमा तीन÷तीनपटक परिक्रमा गराइन्छ । अन्तमा भैरवनाथको ताहासा चुपिङघाटस्थित पुलमा लगेर ताहासा बिगारी पराल हनुमन्ते नदीमा सेलाउने परम्परा छ ।

भक्तपुरमा गाईजात्रा कृष्णाष्टमीसम्म आठ दिन नौ रात मनाइन्छ । प्रतिपदाको दिन मुख्यरुपमा र अन्य दिन साँझ विभिन्न झाँकीसहितको घिन्ताङघिसी नाच निकालेर सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । गाईजात्राकै अवसरमा भक्तपुरमा भाद्रकृष्ण अष्टमीसम्म सहरका देवीदेवताहरू दत्तात्रय, भैरव, भीमसेन, बाराही, कृष्णको खट जात्रा गरिन्छ । भक्तपुरमा डबली डबलीहरू माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी प्याखं, भैल प्याखं, भालुचा प्याखं, रामायण, लुसीचा प्याखं, खिचा प्याखंलगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

शोक र उल्लासको सङ्गमको रुपमा मनाइने गाईजात्रा पर्वलाई काठमाडौँका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको पालादेखि बाजागाजाको संस्कार थालिएको प्राडा श्रेष्ठ बताउनुहुन्छ । उनका अनुसार लिच्छीकालमा रमाइलोका लागि गोरु जुधाउने परम्परा थियो । अनन्तलिङ्गेश्वरको अभिलेखमा यो युद्ध उल्लेख छ । गोरु जुधाएर रमाइलो गर्ने र मृत्यु संस्कारमा गाईजात्रा गर्ने चलन पूर्वमध्यकालमा शुरु भएको श्रेष्ठको भनाइ छ ।

गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्बदन्ती भएपनि नेवार समुदाय बाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन । मल्लकालमा नेपाल मण्डल विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोवास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वको रुपमा विकास भएको प्रा डा श्रेष्ठ बताए । नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्राडाको भनाइ छ ।

नगरपालिकाले सोही अनुसार गाईजात्रा सभ्य र व्यवस्थित रुपले सम्पन्न गर्न दाफा, भजन, सांस्कृतिक टोलीका प्रतिनिधि र संस्कृतिकर्मीहरू, गुठी संस्थान र सरोकारवालासँग छलफल गरी सबै तयारी पूरा गरेको नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । नगरपालिकाले गाईजात्रामा प्रदर्शन हुने परम्परागत र आधुनिक सांस्कृतिक गतिविधिहरू बढीभन्दा बढी प्रदर्शनीका लागि नगरबासीलाई अनुरोध गरेको छ । यस्ता जात्राहरूमार्फत जनतालाई राजनीतिक र सामाजिक रुपमा सचेत गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।