तत्कालीन सीडीओ गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले बुधबार विशेष अदालतमा धनुषा तत्कालीन सीडीओ गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाउपर आरोपपत्र दायर गरेको हो ।

नेपाली सेनाको लागि धनुषाको भरतपुर गाविसअन्तर्गत अधिग्रहण भएको गुठीको स्वामित्व रहेको ज्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी भ्रष्टाचार गरेको उनीहरुविरुद्ध उजुरी परेको आयोगको ठहर छ । उजुरी छानबिन गर्दा सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनु पर्ने रकम किर्ते मोही खडा गरी मुआब्जा दिई उनीहरुले बदनियतसाथ १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

पूर्वसीडीओ गौतममाथि १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार ऐनबमोजिम कैद सजाय र असुलउपर गर्न माग समेत दाबी गरिएको छ ।