मुलुकका लागि होइन सत्ता स्वार्थमा दलहरु, देश यिनको पेवा हो ?

काठमाडौं । राजनीतिक दलहरुले मुलुक र जनताका लागि भन्दा पनि आफ्नै स्वार्थमा चुर्लुम्म डुविरहेका कारण पछिल्लो समय राजनीति प्रति युवा पुस्ताहरुको वितृष्णा बढ्दै गईरहेको छ । सँधै सत्तामा रहिरहने सोच दलका नेतृत्वमा पलाएका कारण पनि यो अवस्था आएको हो । आगामी मंसिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलहरु सिट बाँडफाँडमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तामा रहेका पाँच दलको गठवन्धन पटक पटक बसिररहेको छ । सो गठवन्धन मुलुकमा बढ्दो महंगी, भ्रष्टाचार न्यूनिकरणमा बसेको भए सायद नेपाली जनताहरुले दलहरुलाई निकै नै विश्वास गर्ने अवस्था पनि रहन्थ्यो । सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री सहित गठवन्धन दलका नेताहरु निर्वाचनमा आफ्नो सिट कसरी सुरक्षित गर्ने भन्नेमा केन्द्रित गरिरहेका छन् ।

प्रधानमन्त्री निवासमा मुलुकको समृद्धिका लागि सत्तामा रहेका गठवन्धन दलहरु वीच गहन छलफल हुनु पर्ने थियो । तर त्यसो हुन सकेको छैन । जसरी हुन्छ निर्वाचनमा आफू निर्वाचित हुने वा आफूले भनेको व्यक्तिलाई निर्वाचित गराएर सत्तामा टिकिरहेने खेलहरु भईरहेको देखिन्छ ।

बुधबारसम्मको अवस्थालाई हेर्ने हो भने कांग्रेसले १ सय, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चालाई २ दावी गर्दै आईरहेका छन् । यसकै लागि गठवन्धन दलका नेताहरुवीच बैठक र छलफल भईरहेको छ । यसको मतलव गठवन्धनका नाममा आफ्नो विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर जसरी हुन्छ शक्तिमा रहिरहने सोच रहेको छ । यस्तो सोचलाई मंसीर ४ गतेको निर्वाचनले सदाका लागि विदा गरिदिने हो भने अवस्था के हुन्छ होला ?

स्थानीय तहको निर्वाचनमा काठमाडौंमा जसरी पनि आफ्न पकड राख्ने सोचले विचार र सिद्धान्त विपरित गठवन्धन कै नाममा स्थानीय सत्ता कब्जा गर्ने दलहरुको सोचलाई स्वतन्त्र उम्मेदवारले हावा खुवाईदिएपछि दलहरु अहिलेसम्म पनि अचेत भईरहेका छन् ।

मुलुकभर स्वतन्त्रको अभियान सञ्चालन भईरहनु, हरेक राजनीतिक दलहरुका कार्यकर्ताहरुले बृद्ध नेतालाई विदा दिएर युवाहरुलाई निर्वाचित गराउने उदेश्य सहित छलफलमा जुट्नुले मुलुक तीन पुस्तासम्म सत्ताको स्वाद लिन पल्केकाहरुलाई पाखा लगाउनु अनिवार्य भईसकेको छ ।

देश यिनका पेवा हुँदै होइन । सँधै भरी राज्यको ढुकुटीमा लुट मच्चाउने छुट यिनलाई छैन । त्यसकारण एमाले, कांग्रस, माओवादी होस् या मधेशवादी कुनै पनि दलहरु आफ्नो सिद्धान्तलाई पाखा लगाईसकेकाले यिनलाई पनि पाखा लगाउनु अनिवार्य भईसकेको छ ।