बोल्ने ढंग नपुग्दा कानून मन्त्रीको जागिर चट्


काठमाडौ, ८ साउन । ‘बोल्न पाइँ भनेर प्याच्च नबोल्नु, बस्न पाएँ भने थ्याच्च नबस्नु’ भन्ने उखान यतिखेर कानून मन्त्रीको जीवनसँग मेल खाएको छ । बंगलादेशमा एमविविएस अध्ययन गर्ने नेपाली चेलीहरुमाथि विवादास्पद अभिव्यक्ति दिएका कारण चर्चामा आएका शेरबहादुर तामाङले अन्ततोगत्वा नेकपाको निर्देशनमा राजीनामा दिने तयारी गरेका छन् ।
मन्त्री जस्तो संवदेनशील पदमा बसेर पनि सुनेका भरमा जथाभावी अभिव्यक्ति दिंदा उनको मन्त्रीको जागिर चट् भएको हो ।
मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइँले दिएको अभिव्यक्तिलाई हुबहु जस्तै बोलेका कारण मन्त्री शेरबहादुर तामाङ विरुद्ध सडकदेखि सदनसम्म आवाजहरु उठे । सामाजिक सञ्जालमा उनी विरुद्ध निकै विरोध देखियो ।