म्याक्स मनीद्वारा ६० करोड घोटाला

काठमाडौं, ८ साउन। मलेसियाको रकम स्थानान्तरणसम्बन्धी काम व्यावसायिक कम्पनी म्याक्स मनीद्वारा रेमिट्यान्सको नाउँमा झण्डै ६० करोड रुपैयाँ घोटाला भएको छ ।

नेपालका आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थासँग रेमिट्यान्स कारोबारमा सहकार्य गर्ने सम्झौता गरेको उक्त कम्पनीले नेपाली कामदरमार्फत मलेसियामा रकम संकलन गरेपनि त्यस्तो रकम रेमिट्यान्सकोरुपमा नेपाल नपठाएर ६० करोड रुपैयाँभन्दा बढी रकम घोटाला गरेको हो ।

उच्च स्रोतका अनुसार म्याक्स मनीले मलेसियाबाट उठाएको झण्डै ६० करोड रुपैयाँ हिमालयन बैंक, सिटि एक्सप्रेस प्रालि, आई पे, एआईसी एसिया बैैकलाई भुक्तानी दिएको छैन । मलेसियामा कार्यरत नेपालीहरुसँग म्याक्सले रेमिट्यान्सको नाउँमा ठूलो परिमाणमा रकम उठाउने तर त्यस्तो रकममध्ये आंशिक मात्र नेपाल पठाउने गरेपछि म्याक्स मनीले नेपाली बैंक तथा रेमिट्यान्स कम्पनीहरुलाई उक्त परिमाणमा रकम भुक्तानी गर्नुुपर्ने देखिएको हो ।

सोमध्ये हिमालयन बैंकलाई मात्र म्याक्स मनीले झण्डै ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी देखिएको छ । नेपाली बैंकहरुले उक्त चाँडोभन्दा चाँडो फिर्ता गर्न दबाब दिएपनि म्याक्स मनीका प्रमुुख कार्यकारी अधिकृृत अवद हमिदले मलेसियामा संकलन गरेको धेरै रकम आफ्नो कम्पनीले अन्यत्र लगानी गरेकाले तत्काल फिर्ता गर्न नसक्दै बताउँदै आएको छ ।

सोही कारण पछिल्लो समय म्याक्स मनी र नेपाली बैंकहरुबीच सोही विषयलाई लिएर विवाद बढेपछि नेपाल राष्ट्र बैंककै मध्यस्थतामा म्याक्स मनीका प्रमुुख कार्यकारी अधिकृत हमिद आफ्ना दुई सहयोगीसहित नेपाल आएका थिए । नेपाल आएपश्चात्गत बुुुधबार नेपाल राष्ट्र बैंकका तर्फबाट भीष्मराज ढुुंगाना, म्याक्स मनी मलेसियाका हमिद र म्याक्स मनीका नेपाल प्रतिनिधि तिलक रानाभाट जो वैदेशिक रोजगार विभागका पूर्वअध्यक्ष समेत रहेका थिए, उनीहरुको बीचमा छलफल भएको थियो ।

छलफलपश्चात् पनि राष्ट्र बैंकले म्याक्स मनीबाट रकम कसरी फर्काउने भन्नेबारे ठोस निष्कर्ष निकाल्नसकेन । छलफलमा दोष लगाउने, गल्ती केलाउनेबाहेकका केही पनि काम हुुन नसकेको उच्च स्रोतको दाबी छ । स्रोतका अनुसार म्याक्स मनीको रकम भुक्तानीसम्बन्धी विवादलाई नै लिएर नेपाल राष्ट्र बैंकले हिमालयन बैंकको स्थलगत अनुुगमन गरेको छ ।

अनुुगमनका क्रममा राष्ट्र बैंकले हिमालयन बैंकको सन् २००८ देखि सन् २०१३ सम्मको रेमिट्यान्स कारोबारकोपूर्ण विवरण माग गरेको छ । तर हिमालयन बैंकले सन् २०१३ को रेमिट्यान्स कारोबारसम्बन्धी विवरण राष्ट्र बैैंकलाई उपलब्ध गराए पनि त्यसअघिका वर्षहरुको रेमिट्यान्स कारोबारसम्बन्धी विवरण उपलब्ध गराउन भने केही समय लाग्ने बताउँदै आएको छ । म्याक्स मनी र नेपाली बैंकहरुबीच देखिएको यो समस्या म्याक्स मनीकै गल्तीका कारण भएको देखिएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा केन्द्रीय कार्यालय रहेको म्याक्स मनीले विगत ३० वर्षदेखि रकम स्थानान्तरणसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको छ । हाल यो कम्पनीले एक सय ९० वटा राष्ट्रहरुमा एक सय प्रकारका विदेशी मुुद्राहरुमा रकम स्थानान्तरण गर्दै आर्थिक दैनिकमा उल्लेख गरेको छ ।