कसरी पुगे १६ बालबालिका भारत ? साइवर व्यूरो भन्छ ‘बालबालिका चोरी भ्रम हो

काठमाडौं । भाद्र २७ गते नेपाल प्रहरी प्रधान कार्यालय साइवर व्यूरोले एक सूचना जारी गर्दै गर्यो । प्रहरीले विज्ञप्तिका रुपमा जारी गरिएको सूचनामा भनिएको थियो, ‘भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरु नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरु चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीररका विभिन्न अंगहरु झिकी विक्री गर्ने भन्ने ’ व्यहोरा सहित सामाजिक सञ्जालमा गरिएको पोष्टहरु भ्रामक प्रचार प्रसार हुन् ।

नेपाल प्रहरीले जारी गरेको सो विज्ञप्ति अधिकांश नागरिकहरुले आफ्नो सामाजिक सञ्जालमा भ्रममा नपरौं भन्दै पुन प्रचार प्रसार गरे । नेपाल प्रहरीले विज्ञप्ति जारी गरेकै भोली पल्ट मध्यपश्चिमको सिमाना नेपालगञ्जमा भारत पु¥याएका १६ बालबालिकाको अपराध अनुसन्धान व्यूरोसँगको सहकार्यमा नेपालगञ्ज ल्याएको छ ।

व्यूरोको सहकार्यमा उद्धार गरिएका बालबालिकाहरुमा नुवाकोटका १० जना, रसुवाका ५ जना र कैलालीका १ जना १६ जना बालबालिका रहेको र अधिकांश १२ वर्षमुनिका रहेको जनाइएको छ ।

एकातिर नेपाल प्रहरीको एउटा विभागले बालबालिकालाई ललाई फकाई भारत लैजाने कुरा भ्रम रहेको भन्दै सूचना सार्वजनिक गर्नु र भोली पल्टै नेपाल प्रहरीको अर्को निकायले १६ जना बालबालिकाहरुको उद्धार गरेको समाचार बाहिर आउने कतै नेपाल प्रहरीको विश्वसनियता माथि प्रश्न उठाईरहेको त छैन ।

नेपाल प्रहरीको साईवर व्यूरोले प्रवाह गरेको सूचनामा उल्लेख गरेको कुरा भ्रम हो कि १६ जना बालबालिकाको भारतबाट उद्धार गरिएको अनुसन्धान व्युरोको जानकारी भ्रम हो आम नागरिकलाई स्पष्ट पार्नु जरुरी छ । शान्ति पुर्नस्थापन गृह नेपाल र देहरादुन स्थित हेल्प क्रम संस्थाको समन्वयमा बुधबार भारतको गोण्ठा र सिद्धार्थनगरस्थित बालगृहबाट बालबालिकालाई शान्ति पुर्नस्थापना गृह नेपालगञ्जका क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिएका छन् । भट्टराईले जानकारी दिए।

उनका अनुसार रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्‍याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरस्थित रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।

उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ। अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरुलाई भारत पुर्‍याउने व्यक्तिको पहिचान हुन सकेको छैन।