बाँकेमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

काठमाडौँ । बाँके जिल्लामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर र कोहलपुर नगरपालिकामा नहरमा डुबेर दुई जनाको मृत्यु भएको हो ।

राप्तीसोनारी ८ शम्शेरगञ्जका ७३ वर्षीय बुद्धिमान लामाको करेन्ट लागेर मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जानकारी गराएको छ ।

प्रहरीका अनुसार लामाको पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी सिक्टा सिँचाइ आयोजनाको नहरमा डुबेर कोहलपुर ८ का ११ वर्षीय आकाश गिरीको मृत्यु भएको छ ।

शनिबारदेखि बेपत्ता रहेका गिरीको शव आइतबार साँझ मात्र नहरमा फेला परेको उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिएका हुन् ।