कपिलवस्तु कारागारबाट ६ जना कैदी रिहा

काठमाडौँ । संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका ६ जना कैदी सोमबार रिहा भएका छन् । कैद मिनाहा भएका सबै कैदी कपिलबस्तुका रहेका छन् ।

राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम आज कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज शैनीले बताए । कैदमुक्त भएका ६ जनामध्ये २ जना कर्तव्य ज्यान, सवारी ज्यान, किर्ते नागरिकता, डाँका र अङ्गभङ्ग मुद्दाका एक–एक जना कैद जीवन बिताउँदै आएका थिए ।

मुद्दा नकारात्मक सूचीमा नपरेको, असल चालचलन भएको र ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका आधारमा उनीहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उनीहरुको कैद मिनाहा गरिएको जेलर शैनीले बताए ।

कैदमुक्त भएका उनीहरु बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका जेलर शैनीले जानकारी दिए ।

कपिलवस्तु कारागारमा रहेका कुल ४ सय ४७ कैदी बन्दीमध्ये आज ६ जना कैदमुक्त भएका छन् । बाँकी ४ सय ४१ जना कैदीबन्दी कारागारमा छन् ।