सेरा शहरमा कन्टेनर डिपो भत्कदा ९ को मृत्यु

काठमाडौँ । ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा शहरमा कम्पनीको ‘कन्टेनर डिपो’ भत्कदा ९ जनाको मृत्यु भएको छ । सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको ‘कन्टेनर डिपो’ भत्कदा अन्य २८ जना घाइते भएका छन् ।

दुर्घटनाका बेला करिब ६४ जना कर्मचारी कन्टेनरमा रहेका त्यहाँको वारुणयन्त्र विभागका प्रवक्ता लुसियाना सोरेसाले बताएका छन् । भग्नावशेषबाट घाइतेहरूको उद्धार गरिएको उनले बताइन् ।

डिपोमा जम्मा भएका कामदारले उनीहरूलाई बिदाइ गरिरहँदा ढलानको संरचनाको भाग भत्केर दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् । यही असोज १६ गते हुने स्थानीय उपप्रमुखका दुई स्थानमा हुने निर्वाचनमा भोट माग्न उम्मेदवारद्वय एली सान्तोस र जोन्स डोनिटजले प्रचार अभियानका क्रममा डिपोका कर्मचारीसँग परामर्श गरेका थिए ।