दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुलको शिलान्यास

काठमाडौँ । दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ उक्त पुलको शिलान्यास गरेका छन् ।

दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला हो । महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकालीमा मोटरेबल पुल बन्न लागेको हो ।

सुदूर पहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटरेबल पुल बन्न लागेको हो । यसअघि सुदूरपश्चिमको तराई क्षेत्रमा कैलाली र कञ्चनपुरमा मात्र मोटरेवल पुल रहेका छन् । महाकाली नदीमा पक्की पुल निर्माण दुई देशको सम्बन्ध झन् मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि हुने जिल्ला समन्वय समितिका प्रमुख महादेव बडूले बताए ।

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरबेल पुल निर्माणको पहल २०४८ सालदेखि नै गरिएको मन्त्री बडूले बताए । “यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार सम्बन्ध बलियो बनाउने विश्वास गरेको बताए ।

पुल निर्माणपछि दार्चुला, बैतडी, डडेल्धुरा, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर बताउनुहुन्छ । “सीमा नाकामा बन्ने पक्की पुल दुवै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउनसमेत महत्त्वपूर्ण हुनेछ । उक्त पुलले सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थलमा पर्यटकको आगमन बढ्ने उनको भनाइ छ ।

भारतीय पक्षले निर्माण गर्ने मोटरबेल पुलको कुल लम्बाइ १ सय १० मिटर रहेको छ । त्यसैले त्रिदेशीय नेपाल–भारत–चीन व्यापारको समेत ढोका खुल्ने स्थानीयको भनाइ छ ।