नेपाली राजनीतिमा नयाँ तरङ्ग, पूर्व राजाबाट त्रसित

काठमाडौं, कार्तिक । । २६ जनवरी, अर्थात भारतको गणतन्त्र दिवस । यसवर्षको गणतन्त्र दिवस ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर मनाउने भारतीय तैयारी रहेको खुलासा भएपछि नेपाली राजनीतिमा ज्वारभाटा उठेको छ ।
२०६५ साल जेठ १५ गते जनतालाई निरंकूशता हटाउने वचन दिएका पार्टीहरुले संविधानसभाको बैठकबाट राजतन्त्र हटाएको घोषणा गरे । त्यसअघि मनलागी रुपमा धर्मनिरपेक्षता घोषणा गरेका पार्टीहरुले धार्मिक स्वतन्त्रता हुनेछ भनेर पारित गरेको प्रस्तावमा रातारात २०७२ सालको संविधानमा धर्मनिरपेक्षता लेखेर जारी गरेका थिए । यसरी हिन्दुराष्ट्र र राजतन्त्रको अन्त्य गरेको र राजनीतिमा ठुलै परिवर्तन ल्याएको झ्याली पिट्नेहरुका लागि भारतले गणतन्त्र दिवसका दिन ज्ञानेन्द्र शाहलाई राजाको हैसियत र नेपाललाई हिन्दुराष्ट्रको सम्मान दिने भारतीय संस्थापन निकटकै सञ्चारमाध्यमहरुले प्रचार प्रसार गर्न थालेपछि स्वार्थीहरु बहुलाउनु स्वभाविक हो ।
हुटिट्याउँ यस अर्थमा कि राजनीतिक दलहरुले जनतालाई जेजस्ता आश्वासन, वचन दिएका थिए, घोषणापत्रहरुमा यति ठूला ठूला कुरा लेखेका थिए कि ती कुनै पनि वचनको पालना गरेनन् । जनताले लोकतन्त्र देख्न पनि पाएनन् । संविधान दिवस र गणतन्त्र दिवस सैनिक घेरामा मनाउन थालेको धेरै भयो । जनताको कुनै पनि कार्यक्रममा सहभागिता नै हुने गरेको छैन । जब गण सहभागी नभएको गणतन्त्र दिवस र जनताले अपनत्व नदेखाएको संविधान दिवस सुरक्षाकर्मीको घेरामा मनाउने गरिन्छ, त्यस्तो दिवस भनेको हुटिट्याउँले आकाश थामेजस्तै हो ।
चीनले नेपालमा भरपर्दो संस्था खोजिरहेको र भारतले सुरक्षाको प्रत्याभूति राजनीतिक दलहरुबाट सम्भव नभएको ठहर गरिसकेको स्थितिमा नेपालमा राजसंस्था नहुँदा भारत र चीन दुबैले असुरक्षा अनुभव गरिरहेको र नेपालमा हिन्दुराष्ट्र र राजसंस्था आवश्यक रहेको भारतीय ठहरका बारेमा भारतका नेशनल सेक्युरिटी काउन्सिलका अध्यक्ष डा.तारा कार्थले भारतीय सञ्चारमाध्यममा प्रतिक्रिया लेखेका छन् । यही प्रतिक्रियाले नेपालका राजनीतिक बर्ग, कम्युनिष्ट खेमामा भुइचालो नै गएको छ ।
भारतले ज्ञानेन्द्र शाहलाई गणतन्त्र दिवसको प्रमुख अतिथिका रुपमा निम्त्यायो भने दक्षिण एसियाको राजनीतिमा ठूलै तरङ्ग उत्पन्न हुनेछ । हालै भारतको आशीर्वाद प्राप्त श्रीलंकाका प्रधानमन्त्री बर्खास्त हुनु र चीनले नयाँ प्रधानमन्त्रीलाई भेटेरै बधाई दिएको घटनाको विश्लेषण गर्नेहरु नेपालको राजनीतिले करवट लिन लागेको आहट अनुभव गरेका छन् ।
नेपालमा जे जति परिवर्तनहरु भएका छन्, ज्ञानेन्द्र शाहलाई भारतले निम्त्यायो भने ती सबै परिवर्तनहरु भड्खालामा पर्नेछ । भारतले ज्ञानेन्द्र शाहलाई सम्मान गर्नु भनेको नेपालको राजनीतिक दलहरु असफल भएको र नेपाललाई बलियो बनाउने आधार पनि साबित हुनेछ । नेपालमा बढ्दो बिदेशी चलखेल र षडयन्त्रबाट आफ्नो असुरक्षा देखेको भारतले नेपालमा राजतन्त्रलाई ढालको रुपमा मजबुत पार्न खोजेको देखिन्छ । नेपाल शक्तिशाली भएमात्र यता भारतको सुरक्षा र उता चीनको सुरक्षा पनि सम्भव छ । सम्भवत: व्यापारमा सहमति गरेका चीन र भारतले नेपालको पश्चिमा रणनीति असफल पार्न राजसंस्था पुनस्र्थापित गर्ने विषयमा पनि मत मिलेको हुनुपर्छ । हेरौं, भारतले के के गर्नेछ ? गोरखा एक्सप्रेसबाट