फेरि जुट्ने प्रयास गर्दै राजावादी पार्टी

काठमाडौं, कार्तिक । । तीन राप्रपा फेरि एक हुने भएका छन् । एक हुने सूत्र हिन्दुराष्ट्र र राजसंस्था हुने भएको छ । एकीकरणको सबै अधिकार तीन राप्रपाका अध्यक्षत्रयलाई दिइएको छ । यी तीन नेताको पदीय हैसियत मिलाउन बाँकी छ । आलोपालो अध्यक्ष हुने विषयमा सहमति भयो भने तीन राप्रपा एक हुनेछन् र आगामी चुनावमा शक्तिशाली बन्न सक्नेछन् । टुक्रिनाले राप्रपाको हैसियत सकिएको हो ।
लामो समयदेखि भित्रभित्रै तीन दल एकीकरण गर्ने विषयमा छलफल चलिरहेको छ । एकमात्र सांसद राजेन्द्र लिङ्देनले भगिरथ प्रयास गरिरहेका छन् । अहिले आएर समान विचार र सिद्धान्त भएका दलहरुसँग एकता गर्ने भनेर तीनै दलले आ–आफ्ना अध्यक्षहरुलाई अधिकार दिएका छन् । अध्यक्षहरु सहमति निकट पुगेका छन् तर सामुहिक बैठक बस्न बाँकी रहेको खबर छ ।
अहिलेसम्म अनौपचारिक छलफल भइरहेको र अवको छलफल औपचारिक हुने र यही छलफलपछि एकीकरणको टुङ्गो लाग्ने राजाराम श्रेष्ठले बताए ।
राप्रपा कमल थापा र राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.लोहनी एकीकरण गनै तैयार भइसकेको स्थितिमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरालाई पनि एकीकरणको अधिकार प्राप्त भएको छ । यी तीन दल एक भए भने राप्रपा सशक्त राजनीतिक पार्टी बन्नसक्ने सबैको अनुमान रहेको छ ।