१ खर्ब ८७ अर्ब बराबरको विप्रेषण भित्रियो

काठमाडौँ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म १ खर्ब ८७ अर्ब ४ करोड बराबरको विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको दोस्रो महिनासम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ सय ७० प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८ सय ९८ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार एक ८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ४ सय २९.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले वृद्धि भई २ खर्ब ६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६ प्रतिशतले घटेको थियो ।