पूर्व दुई मन्त्री एकै क्षेत्रका उम्मेदवार, कसले मार्ला बाजी

गुल्मी । आगामी मंसिर ४ गते हु्न गईरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निकै रोचक वन्दै गईरहेको छ । ७७ वटै जिल्लाको उम्मेदवारहरुको अवस्था हेर्ने हो भने गठवन्धनका नाममा एमाले होस् वा कांग्रेस माओवादी दुवै जसरी हुन्छ सत्ता कब्जा गर्ने रणनीतिमा लागेका देखिन्छन् । यस्तै सत्ता कब्जा गर्ने योजनामा विगतमासँगै राजनीति गरेका गोकर्ण विष्ट र रामकुमारी झाँक्रीको प्रतिष्पर्धाले गुल्मी तातिरहेको छ ।

गुल्मी जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा यस पटक एमालेका गोकर्ण विष्ट र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्री प्रतिस्पर्धामा उत्रिएका छन् ।

लामो समय एउटै पार्टीमा मात्र नभएर एकै ‘गुट’मा रहेका विष्ट र झाँक्रीबिचको प्रतिस्पर्धालाई जिल्लामा मात्र नभएर राष्ट्रिय राजनीतिमै चासोका साथ हेरिएको छ । गुल्मी–२ मा प्रतिनिधि सभाको लागि १३ जनाको उम्मेदवारी परे पनि विष्ट र झाँक्री मध्ये एकले विजयी हासिल गर्नेमा दुईमत छैन ।

गुल्मी २ मा दलगत हिसाबले एमालेको तुलनामा एकीकृत समाजवादी कमजोर छ । तर, काङ्ग्रेस, माओवादी केन्द्र र जनमोर्चाले साथ दिएकाले झाँक्री पनि बलियो देखिन्छिन् ।

२०५६ सालदेखि चुनावमा प्रतिस्पर्धा गर्न थालेका विष्ट २०६४ सालबाहेकका सबै निर्वाचनमा विजयी भएका छन् । सत्तारुढ गठबन्धन, विकास निर्माणका केही काम अधुरै रहनु र लामो समयदेखि दोहोरिइरहेको र गठबन्धनले युवा र महिला उम्मेदवार उठाएकाले विष्टलाई चुनौती थपिएको छ ।

यस क्षेत्रमा धुर्कोट, मदाने, मालिका, इस्मा गाउँपालिका, मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाका १ देखि ६ नम्बरसम्मका गरी ४३ वटा वडा पर्दछन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको मत परिणाम हेर्ने हो भने एमालेकोभन्दा गठबन्धनका उम्मेदवारले एक हजार पाँच सय चार मत धेरै पाएको देखिन्छ । एमालेको ३० हजार ८ सय ७२ मत हुँदा गठबन्धनको ३२ हजार तीन सय ७६ मत रहेको छ ।तर, यसमा गठबन्धनको मत थपिने नेताहरू बताउँछन् । माओवादीको बलियो जनाधार रहेको मानिने धुर्कोटमा एमाले र माओवादीले तालमेल गरेका थिए । वडा नम्वर १ र ४मा माओवादीका उम्मेदारले सुर्य चिन्हमा चुनाव लडेकाले सुर्य चिन्हको मत अलि धेरै देखीएको गठबन्धनका नेताहरू बताउँछन् । तर, स्थानीय तहको मत परिणाम अवस्था आँकलनका लागि एक आधार भए पनि प्रदेश र प्रतिनिधि सभामा उस्तै अवस्था रहन्छ भन्न सकिँदैन ।