स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गदै उनीले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन् । 


राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताइन् । स्थापित यस असपतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उनले बताइन् ,  अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उनले आग्रह गरेकी छन् ।  
सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको बताउदै नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरेकी छन् । 

सोलुखुम्बु पर्यटनको साङ्ग्रिला भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा रहेका ठूला हिमाल, भौगोलिक बनावट, जैविक र प्राकृतिक विविधताको लाभ लिनुपर्ने बताइन् ।  पछिल्लो समय जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सचेत जरुरी रहेको उल्लेख समेत गरिन ।  




खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले विकट क्षेत्रमा अस्पतालको आवश्यकता रहेका बेला हिमालयन शेर्पा फाउण्डेशनले स्थापना गरेको यस अस्पतालबाट नागरिकलाई ठूलो राहत पुगेको बताए  । यसबाट गाउँपालिकाका ११ वटा गाउँका १० हजारभन्दा बढी नागरिकलाई उपचार गर्न सहज हुने बताए ।