अत्यावश्यक सेवाका सवारीलाई निर्वाचनका दिन सवारी पास नचाहिने

काठमाडौं । आसन्न मंसिर ४ गतेको आमनिर्वाचनका दिन अत्यावश्यक सेवाका कार्यरत सवारी साधनलाई निर्वाचन आयोगले जारी गर्ने छुट्टै सवारी पास नचाहिने भएको छ । निर्वाचन आयोगले सो दिनका सवारी पास नचाहिने गरी सहजीकरण गरेको छ ।

निर्वाचन आयोगले सवारी पास नचाहिने सेवा अन्तर्गत रहेको उल्लेखित सवारीले सहज रुपमा आवतजावत गर्न सक्नेछन् ।
* बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल
* खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन
* दूध बोक्ने सवारी साधन
* सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन
* दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन
*अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन
* निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन
* तरकारी, फलफूल तथा विद्युत सेवका लागि प्रयोग हुने सवारी साधन
* कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन
* विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन
* सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन
*आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।
(उक्त सवारी साधनहरू मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न पाइने छैन ।)