रवीन्द्र मिश्रलाई मनिषाको साथ

काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावी प्रसारप्रचार तीब्र पारेका छन्। नेपाली राजनीतिमा यस पटकको निर्वाचनले फरक सन्देश दिने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्र बिहानबाट साँझसम्म घरदैलो अभियानमा केन्द्रित भएका छन्। घरदैलो कार्यक्रममा मिश्रलाई अभिनेत्री मनिषा कोइरालाले साथ दिएकी छन् ।

मंगलबार बिहान बबरमहलस्थित कर कार्यालय नजिकैबाट सुरु भएको घरदैलोमा रवीन्द्रसँगै मनिषा चुनावी प्रसारप्रचारमा हिँडेकी थिइन्। मिश्रसँगै कोइराला देखिँदा मतदातासमेत उत्साहित भएका थिए ।

काठमाडौं क्षेत्र नम्बर.१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मिश्रले देशको स्वरुप परिवर्तन गर्न पनि जनताले सुझबुझ सहितको निर्णय लिनुपर्ने मतदाता समक्ष बताउँदै आएका छन्। राप्रपाको घोषणमा पत्र आफूले पढेको बताउँदै उनले त्यहाँ धेरै राम्रा कुरा उल्लेख भएकाले हलोमा मतदान गरि अत्यधिक मतले जिताउन मतदातालाई अपील गरेकी छन्।

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह, एमाले केन्द्रीय सदस्य तथा युवा संघ नेपालका अध्यक्ष किरण पौडेल, लगायत चुनावी मैदानमा छन्। २०७४ सालको निर्वाचनमा सिंहले १० हजार ९ सय ३६ मत ल्याउँदा तत्कालीन विवेकशिल साझा पार्टीका रवीन्द्र मिश्रले १० हजार १ सय १८ मत ल्याएका थिए। ८ सय १८ को झिनो मतान्तरले सिंहले मिश्रलाई हराएका थिए।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा ३१ जनाको उम्मेदवारी परेको छ। जसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। ३५ वर्षीय सामाजिक अभियन्ता पुकार बमदेखि पूर्वप्रहरी नायव महानिरीक्षक (डीआइजी) रमेश खरेलसम्मले काठमाडौं क्षेत्र नम्बर.१बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।