कम्पनी रजिष्ट्रारको कार्यालयबाट घुस खाने आमा छोरी समातिए

काठमाडौं, माघ । पौष २७ गते पृथ्वी जयन्तीका दिन एउटा उक्ति सामाजिक सञ्जालमा भाईरल बन्यो ‘ घुस खान्या र लिन्या दुवै देशका शत्रु हुन् ’ । पृथ्वीनारायण शाहले त्यस बेला दिएको महान् बाणी अहिले यथार्थ चित्रित हुँदैछ । घुस लिनेको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
घुस काण्डमा कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टार गीताकुमारी पन्थी र उनकी छोरी घुस रकमसहित रंगेहात पक्राउ परे पछि नेपालको भ्रष्टाचार अझ छताछुल्ल हुन थालेको छ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरबाट सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगे हात पक्राउ गरेको हो । सहायक रजिस्टार पन्थीले सो कम्पनीमा दर्ता रहेको एक स्कुलको हालसम्मको कर तिर्न जाँदा ग्राहकसँग घुसबापत रकम लिएपछि अख्तियारको टोलीले पक्राउ गरेको हो ।

पन्थीले सो स्कुलको हालसम्मको कर तिर्न जाँदा राजस्व कम गरिदिने भन्दै घुस मागेकी थिइन् । सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा अख्तियार कार्यालय टंगालबाट गएको टोलीले पन्थीलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुसबापतको रकम लिएर छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा आमाछोरीलाई नै पक्राउ गरेको हो ।