प्रधानमन्त्री बन्न कांग्रेसमा रस्साकस्सी

काठमाडौँ । कांग्रेसबाट प्रधानमन्त्री बन्न आकांक्षा देखाउने ६ नेताले चुनाव जितेका छन्। जो संसदीय दलका नेता बन्ने दौडमा जुट्न थालेका छन्। संविधानको धारा ७६ (१) मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र उनकै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ।

पार्टी सभापति शेरबहादुर देउवा, नेताहरू रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइराला र महामन्त्री गगनकुमार थापा मुख्य आकांक्षी देखिएका छन्। जसमध्ये पार्टीमा पकड भएका र टिकट वितरणमा अधिकांश आफू पक्षका नेता चयन गरेका देउवाको सम्भावना बलियो देखिन्छ।

प्रधानमन्त्री र पार्टी सभापति भएका कारण पनि देउवालाई नै पुनः प्रधानमन्त्री बन्न सहज हुने बताउँछन् राजनीतिक विश्लेषक पुरञ्जन आचार्य। त्यसपछिको बलियो संभावना भएका नेता हुन् डा। शेखर कोइराला। तर, उनी यो विषयमा बोलेका छैनन्। मोरङमा भएको बिजय जुलुसलाई सम्बोधन गर्दै उनले संसदीय दलका नेतामा दाबी गर्ने या नगर्ने विषयमा निर्वाचनको पूर्णनतिजा नआइञ्जेल केही नबोल्ने बताए। उनले सञ्चारकर्मीसँग भने, ‘नतिजा आइसकेको छैन। समानुपातिकको पूर्णनतिजा आइसकोस् अनि पार्टीभित्र र सभापतिज्यूसँग बसेर यस विषयमा कुरा हुन्छ।’

उनले पार्टीमा १४औं महाधिवेशनयता संस्थापन इतर समूहको नेतृत्व गरिरहेका छन्। महाधिवेशनमा ४३ प्रतिशत मत प्राप्त गरेका उनको क्रियाशीलता र भूमिका महाधिवेशनपश्चात् अझै चुलिएको छ। त्यसकारण पनि प्रधानमन्त्रीमा कांग्रेसभित्रै अबको नेतृत्व कसको हातमा भन्ने कुराले विशेष अर्थ राख्छ। उनी मोरङ ६ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन्। प्रत्यक्षतर्फ टिकट दिलाउन कोइरालाले पहल गरेका संस्थापनइतरका धेरै नेताले निर्वाचन जितेका छन्। महामन्त्री थापा भने प्रधानमन्त्री पदको दाबीसँगै कार्यदिशा र खाकासहित चुनावी मैदानमा उत्रिएका थिए।

कांग्रेसकै संस्थापन इतर समूहका एक नेताले भने, संसदीय दलका नेताका लागि गगनजी निकै गहिराइमा पुगेर तयारीमा जुट्नुभएको छ। अहिलेको तयारी हेर्दा पछि हट्नुहुन्छ जस्तो लाग्दैन। पार्टीभित्रै पुस्तान्तरणको चाहना भएका साथीहरूले गगनजिको नेतृत्व चाहन्छन्।’

विश्लेषक आचार्यका अनुसार कांग्रेसले पार्टीमा रूपान्तरण र पुस्तान्तरण चाहने हो भने थापाको सम्भावना बलियो छ। थापाले अन्य पार्टीका युवा नेताको साथ पाउने अपेक्षा राखेको जनाइएको छ। झापा १ बाट निर्वाचित अर्का महामन्त्री विश्वप्रकाश शर्मा थापाकै पक्षमा देखिएका छन्।

दुवै महामन्त्रीको एकजुटले अर्थ राख्ने अर्का राजनीतिक विश्लेषक डा। शारदाप्रसाद पराजुली बताउँछन्। पराजुली भन्छन्, ‘गगन, विश्वप्रकाश, डा। चन्द्र भण्डारी र प्रदीप पौडेलजस्ता नेताको साथले राष्ट्रिय राजनीतिमा मात्रै नभएर नेपाली कांग्रेसको आन्तरिक राजनीति र पार्टीको शक्ति समीकरणमा पनि विशेष महत्व राख्छ।’

अहिलेसम्म दलको नेताका लागि पहिलो दाबी महामन्त्री थापाले पेस गरेका छन्। काठमाडौं ४ बाट निर्वाचित हुनेबित्तिकै उनले अब आफू दलको चुनाव लड्ने तयारीमा लाग्ने बताएका थिए। पार्टी र सरकारको प्रमुख कार्यकारी पदमा नपुगेका नेता पौडलले पनि प्रधानमन्त्री पदमा अब आफ्नो विकल्प नरहेको इच्छा व्यक्त गर्दै आएका छन्। पार्टीको १४औं महाधिवेशनमा पौडेलको नेतृत्वमा संस्थापन इतर समूह जान नमानेपछि उनले आफ्नो मौन समर्थन देउवालाई गरेका थिए। त्यसको फाइदा पौडेलले टिकट वितरणमा केही हदसम्म उठाउन सके।

पौडेलले तनहुँ १ बाट चुनाव जितेपछि पार्टीभित्रका सबै पक्ष र समूहले आफूलाई समर्थन गरून् भन्ने चाहना राखेको उनीनिकट कार्यकर्ता बताउँछन्। यद्यपि पौडेलले चाहेजस्तो दुवै पक्षले उनलाई दलका नेतामा अघि सार्ने सम्भावना भने न्यून देखिन्छ।

१४औं महाधिवेशनमा सभापतिको सर्वसम्मत उम्मेदवार नबनाइएपछि उनी अहिले दुवैतिर खुलेका छैनन्। त्यसकारण पनि पौडेललाई गाह्रो छ। १४औं महाधिवेशन हुँदाका दिनसम्म इतरको नेतृत्व गरेका पौडेल महाधिवेशन सकिँदा नसकिँदै शक्तिविहीन नै बन्न पुगेका थिए। यद्यपि महाधिवेशनपछि देउवाले उनलाई सँगै लिएर हिँडेका छन्।

पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पनि अबको प्रधानमन्त्रीका रूपमा आफ्नो विकल्प नभएको बताउँदै आएका छन्। महाधिवेशनमा डा। शेखरलाई छोडेर देउवालाई सहयोग गरेका बीपीपुत्र डा। शशांकले अब आफूलाई प्रधानमन्त्री बन्नमा देउवाले सघाउनेमा विश्वस्त देखिन्छन्। यद्यपि उनी कुन कित्ताको भनेर खुलेका भने छैनन्।

उनले पूर्वी नवलपरासीबाट चौथो जित हासिल गरेका हुन्। चुनावी नतिजा सार्वजनिक भएसँगै जनतालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘म प्रधानमन्त्रीको दाबेदार हुँ, नत्र राजनीति किन गर्ने रु म प्रधानमन्त्री बन्ने प्रशस्त आधार छ। चारपटक चुनाव जितेको छु। योभन्दा बढ्दा के चाहियो रु राजनीतिक दृष्टिकोणले परिपक्व छु। मसँग साथीहरू पनि छन्। मेरो सिफारिसमा आपत्ति हुँदैन।’

अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि प्रधानमन्त्रीका आकांक्षी छन्। काठमाडौं १ मा रवीन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गरेका सिंहले आफू प्रधानमन्त्रीका लागि सबै हिसाबले सक्षम रहेको बताउँदै आएका छन्। सिंह पार्टीको १४औं महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा उठेका थिए।

यद्यपि दोस्रो चरणमा भने उनले देउवालाई नै सहयोग गरे। उनलाई महाधिवेशनमा सहयोग गरेको गुनस्वरूप देउवाले आफूलाई नै प्रधानमन्त्रीमा सहयोग गर्ने अपेक्षा राखेका छन्। त्यसो त पार्टीभित्रै अन्य नेताको तुलनामा कम अंकगणित भएका द्वय नेता कोइराला र सिंहको प्रधानमन्त्रीका लागि भरपर्दो भरोसा देउवा हुन्।

प्रधानमन्त्रीसमेत रहेका देउवाले आफ्नो विकल्पमा अन्य कुनै पनि नेतालाई अघि सारेका छैनन्। २०७४ सालमा पनि देउवा संसदीय दलका नेता थिए। देउवा डडेलधुराबाट विजयी भए सँगै पुनः संसदीय दलका नेता बन्ने ढोका खुलेको छ। प्रधानमन्त्री बन्न संसदीय चुनाव जित्नुपर्छ र संसदीय दलको नेता चुनिनुपर्छ।

एकल बहुमत नआए अन्य दलको पनि साथ लिन सक्नुपर्छ। त्यसो त देउवानिकट एक नेताले भने ‘संसदीय दलको नेता देउवाजी नै हो। संसदीय दलमा पनि उहाँकै बहुमत हुन्छ। पार्टीभित्रका प्रधानमन्त्रीको दाबी गर्ने साथीहरूले पार्टी बलियो बनाउनतर्फ लाग्नुहुन्छ।’

कार्यवाहक पार्टी सभापति भएका बेला कृष्णप्रसाद भट्टराई, महामन्त्री भएका बेला गिरिजाप्रसाद कोइराला तथा केन्द्रीय सदस्य भएका बेला शेरबहादुर देउवा संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बनेको नेपाली कांग्रेसको इतिहास भने छ। अन्नपूर्णपोष्टबाट