पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भ्रष्टाचार विरुद्ध अभियानमा जुट्ने


काठमाडौं,माघ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका डा बाबुराम भट्टराई भ्रष्टाचार विरुद्ध लाग्ने भएका छन् ।
भ्रष्टाचारको विरुद्ध तथा असल राजनीतिको पक्षमा रहेका भट्टराईले एकमहिने पूर्व–पश्चिम अभियानको थालनी गर्न लागेको बताइएको छ । असल राजनीतिका लागि एक महिने ‘जनसंवाद यात्रा’ अभियान सञ्चालन गर्ने भएको सो पाटीले जनाएको छ ।

अभियानको नेतृत्वको गर्दै संयोजक भट्टराईले पुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्ने बताइएको छ।
‘असल राजनीति र समावेसी विकासका लागि जनसंवाद’को नारासहित नयाँ शक्तिले पुष्पलाल लोकमार्गमा अभियान सञ्चालन गर्न लागेको हो । ‘नयाँ शक्तिको लुम्बिनी बैठकको वैचारिक कोषेढुंगापछि यसलाई सांगठनिक कोषेढुंगा बनाउँदैछौँ,’ अभियानको उद्देश्यबारे भट्टराईले बताएका छन् ।

पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म १ हजार ७७६ किलोमिटरको पुष्पलाल लोकमार्ग आसपास सञ्चालन हुने अभियानका क्रममा स्थानीय तहका समस्या र सम्भावनाका विषयमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय अगुवाहरुसँग अन्तरक्रिया र छलफल गरिने छ । सो अभियानको एक महिनाभर नै डा बाबुराम भट्टराई सहभागी हुने छन् ।