सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

काठमाडौँ । मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ। गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो।

अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ।

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी आइपुगेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएको छ । प्रवक्ता पन्तकाअनुसार अब केही दिनमा मेलम्चीको पानी काठमाडौंका घर घरमा पठाइनेछ।

‘पानी सफा हुन केही समय लाग्न सक्छ। काठमाडौंका घरघरमा मेलम्चीको पानी पठाउन वितरण गर्ने सबै निकायहरूलाई जानकारी पनि गराइसकिएको छ,’ उनले भने। मेलम्ची खानेपानी विकास समितिका कर्मचारीले गत साउनदेखि पारिश्रमिक भने पाएका छैनन्। उनीहरूले पानी वितरण रोक्ने सक्ने चेतावनीसमेत दिइरहेका छन्।

काठमाडौंका १० क्षेत्रमा निर्वाचित भएका सांसदहरूले आज मेलम्ची खानेपानी विकास समिति पुनर्गठन र मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउनुपर्ने मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणसमेत गर्ने भएका छन्।

सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्गठन गर्ने तयारी गरेको छ। नयाँ बजेट ल्याउँदा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरी मेलम्ची आयोजनालाई खानेपानी विभागअन्तर्गत राख्ने भने पनि त्यसअनुसार खासै काम अघि बढेको थिएन।

गत वैशाखमा अस्थायी बाँध बनाएर काठमाडौं पानी पठाउन थालिए पनि १ महिनापछि गत जेठदेखि सुरुङको बन्द गरेर पानी पठाउन रोकिएको थियो । अब हिउँदयामभरी मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौंका धारामा आउने मेलम्ची खानेपानी आयोजनाको भनाई छ ।