मध्यबिन्दुमा अस्पताल भवन निर्माण सुरु

काठमाडौं । पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल भवन निर्माण सुरु भएको छ । आज मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले अस्पताल भवनको शिलान्यास गरेका छन् ।

यसअघि मध्यबिन्दु–७ मा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरेका थिए । नगर अस्पताल सञ्चालनको लागि सुविधा सम्पन्न भवन निर्माणको लागि ठेक्का सम्झौता भई निर्माणको काम अगाडि बढेको नगरप्रमुख अधिकारीले बताएका छन् ।

२ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी नगरपालिकाले २०७९ कात्तिक १७ गते ठेक्का सम्झौता गरेका थिए । भ्याटसमेत र १७ करोड ५६ लाख २८ हजार १ सय ८७ लागतमा १५ शय्याको अस्पताल निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताएका छन् ।

अस्पताल निर्माणपछि नगरपालिकासँगै अन्य पालिका तथा जिल्लाका सेवाग्राही लाभान्वित हुने प्रमुख अधिकारीले विश्वास व्यक्त गरेका छन् । स्थानीय तह गठनपछि प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना भए पनि आवश्यक स्वास्थ्य सेवा उपलब्ध हुने बताए ।

यस अगाडि मध्यबिन्दु नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रममार्फत प्रत्येक महिना घरमा नै पुगेर स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने व्यवस्थासमेत मिलाएको थिए् । नगरपालिका कार्यालय परिसरमा सुविधा सम्पन्न स्तनपान कक्ष निर्माण, नगर अस्पताल सञ्चालन कार्यविधि निर्माण तथा समिति गठनलगायतको काम यस अगाडि गरिसकेको अधिकारीले जानकारी दिएका छन् ।