कालिकादेखि विध्ववासिनीसम्म साइकलयात्रा

काठमाडौँ । पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ ।

साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्‍याली को आयोजना गरिएको हो ।

साइकल र्‍यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योगा, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा उद्घाटन गर्नुभयो । उहाँले पर्यावरणको रक्षा र पर्यटन प्रबद्र्धनका लागि र्‍यालीको महत्वपूर्ण सन्देश रहेको बताए । साइकल र्‍यालीले वातावरण संरक्षणमा चेतनामूलक सन्देश प्रवाह गर्दै बागलुङ र पोखरालाई पर्यटनका माध्यमबाट नजिक बनाउने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए ।

पोखरामा हुँदै गरेको मेयरकप साइकल दौड प्रतियोगिताका अवसरमा पोखरा आउने पर्यटकलाई बागलुङसम्म आउने वातावरण बनाउन र्‍यालीका लागि अनुरोध गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

“साइकल र्‍यालीको बागलुङमा मिलेर व्यवस्थापन गरेका र्छौं”, बागलुङ नगरपालिकाका कार्यबाहक नगर प्रमुख कोपिलामणि शर्माले भने, “पोखरा आउने पर्यटकलाई बागलुङमा पनि घुम्ने ठाउँछन् भन्ने सन्देश ¥यालीले दिनेछ ।”

पोखरादेखि सिधैँ मुस्ताङ जाने पर्यटकले यसपछि बागलुङको बाटो रोज्न सक्ने विश्वास लिइएको छ । विदेशी साइकल पर्यटक तथा अन्तरिक पर्यटनलाई आमन्त्रण गर्दै ‘थोपा थोपा इन्धन बचाउ’ भन्ने नाराका साथ पोखरामा आयोजना गरिएको प्रतियोगिताको सन्देश बागलुङबाट दिइएको हो । साइकल र्‍याली बागलुङ कालिकाबाट सुरु भइ पर्वतको कुश्मा बजार हुँदै पोखराको विन्धवासिनी मन्दिर पुगेर समापन हुनेछ ।

साइकल र्‍यालीमा काठमाडौँ, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँलगायतका जिल्लाबाट २ सय जना यात्रीको सहभागिता छ ।