काठमाडौँ, असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे दुई तिहाईको कम्यूनिष्टको सरकार ढाल्ने चेतावनी दिएका छन् । सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत आफूहरुले पारित हुन नदिने बताएका छन् ।
‘लोकतन्त्रको लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुदैन’ देउवाको भनाई छ । शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी निकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
उनले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वत: स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि बताए । कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाईडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानवीन गरी दोषीमाथि कडा कार्वाही गर्न सरकारलाई दवाव दिए ।
उनले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न पनि सरकारलाई सचेत गराए । नेता पौडेलले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभावको नीति नलिन पनि सरकारलाई सचेत गराएका थिए ।
Add Comment