पाँच वर्षको अबधिमा नगरपालिकामा बेरुजु बढ्यो

काठमाडौँ । विगत पाँच वर्षमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै ७ करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् ।

नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४/७५ देखि आव २०७७/७८ सम्ममा ३३ शीर्षकमा ६ करोड ८६ लाख ४२ हजार ८ सय ७३ रहेको छ । त्यसमा सबैभन्दा बढी बेरुजु आव २०७७/७८ मा उपभोक्ता समितिमार्फत गरिएको कामको रहेको बताएका छन् ।

उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता गरेर रकम निकास गर्ने तर उपभोक्ता समिति आफूले काम नगरेर अर्को ठेकेदारलाई कामको जिम्मा दिएका विकासका कामको मात्रै १ करोड २८ लाख ८९ हजार ८ सय ६४ को बेरुजु रहेको नगरपालिकाको आर्थिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

नगर प्रमुख खत्रीले भने, विगत ५ वर्षमा हचुवामा जसरी पायो त्यसरी रकम बाँडेको देखियो, लगेको रकमको काम गरेर फछर्यौट गरेको भए हुन्थ्यो, काम अधूरो बनाउने र कामै नगरेको पाइएकाले त्यस्तो रकम इमान्दारिताका साथ फिर्ता गर्न आह्वान गर्दछु, अन्यथा कानुनअनुसार अगाडि बढ्छौँ ।

त्यस्तै नगरपालिकाले चालु आव २०७९/८० का लागि पुँजीगततर्फ १ अर्ब ३४ करोड ७१ लाख ४३ हजार ९ सय ५७ र चालुतर्फ ७७ करोड १८ लाख ८२ हजार २ सय ४३ गरी कूल २ अर्ब ११ करोड ८९ लाख ८६ हजार २ सय बजेट विनियोजन गरेकामा यो ६ महिनाको अवधिमा कुल बजेटको २३ दशमलव २८ प्रतिशत अर्थात् पुससम्ममा कूल ४९ करोड ३४ लाख ७० हजार खर्च गरेको नगर प्रमुख खत्रीले बताएका छन् ।

आन्तरिक राजस्वतर्फ २६ करोड २६ लाख ३० हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा यहीँ पुससम्ममा ६ करोड ८४ लाख १३ हजार २ सय ४३ अर्थात् २६ दशमलव ४ प्रतिशत मात्रै सङ्कलन भएको उनले जानकारी दिएका छन् ।