कार दुर्घटनामा वेपत्ता खत्रीको शव गोताखोरले बागमतीबाट निकाले

काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिका ६ चोभारस्थित जल विनायक पुलबाट बागमती नदीमा कार खसेर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ।

यही पुस २ गते बा ५ च ५६५४ नम्बरको कार नदीमा खस्दा राजकुमार खत्री बेपत्ता भएका थिए । उनको श्रीमती गम्भीर घाइते भएकी थिइन्। बेपत्ता खत्रीको शव बिहीबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो।

कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १ खहरे वस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री वेपता भएका थिए। उनको श्रीमती ४० वर्षीया अम्बिका लामिछाने घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी लगिएको थियो।