गण्डकीमा मन्त्रालय घट्ने, जिम्मेवारी बाँडफाँट टुङ्गिँदै

काठमाडौँ । गण्डकी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर ७ मा पु¥याउने भएको छ । प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले सत्तारूढ दलहरुबीच मन्त्रालय घटाउने विषयमा सहमति बनेको बताए ।

“कुन मन्त्रालय कसले पाउने भन्ने विषय भने छलफलमै छ, आजै साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ”, उनले भने । विना विभागीयमन्त्री एवं नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले जिम्मेवारी बाँडफाँटमा दलहरुबीच सहमति जुटिनसकेको बताए ।

प्रदेशको व्ययभार घट्ने गरी गण्डकी सरकारले लिएको मन्त्रालय कटौतीको निर्णयलाई धेरैले सकारात्मक कदमका रुपमा लिएका छन् । यसअघिको सरकारले मन्त्रालयको सङ्ख्या १२ पु¥याएको थियो । मन्त्रालय घटाउने विषयमा छलफल लम्बिँदै जाँदा मन्त्रिपरिषद् विस्तारले पनि समय लिएको जनाइएको छ ।

प्रदेशले नयाँ मुख्यमन्त्री पाएको १५ दिन बितिसक्दा पनि सरकारले भने अझै पूर्णता पाउन सकेको छैन । विना विभागीयमन्त्रीका रुपमा शपथ लिनुभएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँटसमेत भएको छैन । मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरु कामविहीन स्थितिमा छन् । विभागीयमन्त्री नहुँदा मन्त्रालयका कामकारबाही पनि प्रभावित भइरहेका जनाइएको छ ।

गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विना विभागीयमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएको थियो । विना विभागीयमन्त्रीको हैसियतमा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान, नेकपा (एमाले) बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेको छ ।