स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने मन्त्री किराँतीको भनाई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । मङ्गलबार मोरङको उर्लाबारीमा आयोजित एक कार्यक्रममा उनले स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे ।

निराशाको हुरी चलेको बेला आशा जगाउनुपर्नेमा जोड दिँदै उनले भने, “हिजो जीवन त्याग्नुपर्ने अवस्था थियो, आज निजी स्वार्थलाई तिलाञ्जली दिए पुग्छ ।” उनले सरकारले काम गर्न सकिएन भनेर छुट पाउने अवस्था नरहेको बताए । भ्रष्टाचारको अन्त्य गर्न सबै जुट्न आवश्यक रहेको बताउँदै मन्त्री किरातीले जनतालाई आशा जगाउने गरी काम गर्ने जमर्को गरिरहेको बताए ।