विश्व पानी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस बुधबार नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ ।

यो वर्ष ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी पानी दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसात् गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो ।

पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । नेपाल विश्वमै जलस्रोतमा दोस्रो धनी देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीकै समस्या छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन सकेको छैन ।