निर्वाचन आयोगमा चार उजुरी, होला त आजै सर्वोच्चमा रवि लामिछानेको राहदानी प्रकरणको सुनवाइ ?

काठमाडौं । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेको छ ।
तीनवटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानून व्यवसायी युवराज पौडेल ‘सफल’ले इमेलमार्फत दर्ता गराएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिएका छन् । अन्य तीन जनाले उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले दिने दाबी विरोधअन्तर्गत उजुरी परेको हो ।
आचार्यका अनुसार नेपालको नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानूनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरी परेका हो ।

सफलको भने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ बमोजिम उजुरी दर्ता गराएका छन् । दफा १५ मा कुनै पनि उम्मेदवारको निर्वाचनको परिणाम आउनुभन्दा पहिला योग्यताका विषयमा जो सुकैले उजुरी दिन सक्ने उल्लेख छ । उजुरीका विषयमा आजै नै छिनोफानो गर्नु पर्ने निर्वाचन आयोगको बाध्यता छ भने अर्कोतिर सर्वोच्च अदालतमा रवि लामिछानेको दोहोरो राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज बुधबार सुनुवाई हुने संभावना छ ।

मंगलबारका लागि पेशी तोकिए पनि न्यायाधीश अनिलकुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाई बुधबारका लागि सारिएको थियो ।

न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा लामिछानेको नागरिकता विवादको सुनुवाइमा संलग्न रहेकाले राहदानी प्रकरणमा सुनुवाई नगर्ने बताएका थिए । तर लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमा आज सुनुवाई अनिवार्य हुुन पर्ने छ । आज सुनुवाई नभए रवि लामिछानेको उम्मेदवारीमा समस्या पर्ने देखिन्छ ।