‘गायनमा निरन्तरता नै सफलता हो’

काठमाडौँ । रियालिटी शोमार्फत उदाएका गायक कर्मा शेर्पा गत हप्ता नेपालमा थिए । काठमाडौंमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का सहभागी प्रतियोगीलाई हौसला प्रदान गर्न नेपाल आएका शेर्पाले प्रतियोगीसँगै १ हप्ता बिताए।

प्रतियोगीलाई उनको सुुझाव थियो, “कलामा निरन्तरता महत्वपूर्ण हो ।” “विश्वभरका नेपाली अहिले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहनुभएको छ । उहाँहरुलाई आफ्नो अनुभव र ज्ञान प्रदान गर्नुका साथै हौसला दिन यहाँ आएको हुँ”, गायक शेर्पाले भने ।

“म यो मञ्चसम्म पुग्न निकै सङ्घर्ष गरेको छु । अरूले पनि त्यहि सङ्घर्ष गर्न नपरोस् भनेर काम गरिरहेको छु । किनकि धेरै प्रतिभा गन्तव्यसम्म नपुग्दै हाराउने गरेका छन्”, गायक शेर्पाले भने।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा यहाँ जारी प्रतियोगिताका सहभागीलाई उनले भनेका थिए । ‘‘म पनि सहजै यो स्थानमा पुगेको होइन । प्रत्येक कला क्षेत्रका कलाकारका लागि पनि निरन्तरता र मेहनत महत्वपूर्ण छ ।’’

पछिल्लो समय प्रशारित भइरहेका यस्ता रियालिटी शोहरु वास्तविकताभन्दा पर रहेको उनको बुझाइ छ । “पहिले जस्तो निर्णायकले प्रतिक्रिया दिँदैनन्, तारिफ मात्रै गर्छन्”, उनले भने, “हामीले गाउने समयमा अलिकति तलमाथि हुँदा पनि कडा प्रतिक्रियाको सामना गर्नुपर्थ्यो ।”

उनको बुझाइमा अहिले दर्शक निर्णयक बनेका छन् भने भोटबाटै उत्कृष्ट गायक छनोट हुन थालेका छन् । पचासभन्दा बढी देशबाट छानिएका मध्येबाट नृत्य र गायनमा ५०÷५० प्रतियोगी छनोट गर्न हाल काठमाडौँमा अडिसन जारी छ ।

‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा छन् । यसैगरी नृत्यतर्फ निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की, नरमान राई छन् । कार्यक्रमका प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ छन् ।

नेपालमा आयोजना गरिएको यो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो । गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।