समयमै मल उपलब्ध हुन्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अनिता देवीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताए । उनले यस वर्ष समयमै मल, बिउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको पनि बताए । सम्बन्धित मन्त्रालयबाट काम अगाडि बढिसकेको पनि उनले जानकारी गराए ।

‘सर्वसुलभ तरिकाले रासायनिक मल उपलब्ध गराउन, रासायनिक मलमा अनुदान दिनुकोसाथै भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको जानकारी गराउन चाहन्छु । यस वर्ष समयमै मल, बीउ उपलब्ध गराउन मैले बेलैमा कृषि मन्त्रालय लगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको छु,’ उनले भने, ‘कृषि मन्त्रालयबाट यस सम्बन्धी कार्य अगाडि बढी पनि सकेको छ । यस वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरूको हितलाई अनि उत्पादन र रोजगारी सृष्टिको कुरालाई उच्च प्राथमिकता दिइने कुरा पनि म जानकारी गराउन चाहन्छु ।’

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरूको हितलाई उच्च प्राथमिकता दिइने स्पष्ट पार्नुभयो । त्यस्तै उत्पादन र रोजगारी सृष्टिको कुरालाई पनि उच्च प्राथमिकता दिइने उहाँको भनाई छ ।