असार मसान्तभित्र भूकम्प पीडितको बाँकी किस्ता उपलब्ध हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितको बाँकी किस्ता असार मसान्तसम्म उपलब्ध गराइने बताएका छन्।

बिहीबार संसद बैठकमा कांग्रेस नेता रामहरि खतिवडाले भूकम्प पीडितले बाँकी किस्ता कहिले पाउँछन् ? भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले २०८० असार मसान्तसम्म भुक्तानी भइसक्ने विश्वास दिलाएका हुन्।

उनले भने,’भूकम्प पीडितको बाँकी किस्ता २०८० साल असार मसान्तसम्म भुक्तानी हुन्छ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्र सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताए। त्यसका निम्ति विभिन्न उपाय र कदम चालिएको उनको भनाइ छ। उनले इमान्दार पहलकै कारण अहिले विप्रेषण र विदेशी मुद्रा संचितीमा उल्लेख्य सुधार आएको बताए।

उनले मौद्रिक नीति र वित्तीय नीतिबीच सामजस्यता ल्याउन राष्ट्र बैंक र अर्थमन्त्रालयबीच लगातार बहस र छलफल भइरहेको बताए। राहदानी, श्रमस्वीकृत,राष्ट्रिय परिचयपत्रलगायतका सार्वजनिक सेवा प्रवाहमा जनताले अनुभूत गर्नेगरी सुधार भइरहेको बताए।