खर्च गर्ने क्षमता बढाउनुस् : रेखा शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिएकी छन् । मन्त्रालयमा आज आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले निर्धारित लक्ष्य पूरा गर्नेगरी काम गर्न निर्देशन दिएकी हुन् ।
“तोकिएका ‘माइलस्टोन’ पूरा गरौँ, जे लक्ष्य निर्धारण गरेका छौँ, त्यो पूरा गर्ने दिशामा अगाडि बढौँ”, उनले भनिन्, “पुँजीगत खर्च नहुनुका कारण र समस्या छन्, तिनका बारेमा गम्भीर समीक्षा गरौँ ।” मन्त्रालयले लिएको लक्ष्य पूरा गर्न सबै निकायले मेहनत गरिरहेको भए पनि लक्ष्य प्राप्त हुन नसकेकामा सबैले गम्भीर भएर सोच्नुपर्ने उनले बताइन् ।
मन्त्री शर्माले भनिन्, “सबैले मेहनत गरेका छौँ, तर लक्ष्यमा पुग्न सकेका छैनौँ, पुँजीगत खर्चको लक्ष्य भेट्याउन स्पष्ट योजना ल्याउनुपर्छ ।” अन्तरनिकाय समन्वय काय  नहुँदा मातहतका निकायका काम अगाडि बढाउन समस्या भइरहेको उनको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतले पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गरिनुपर्ने बताए ।  “एकतातिर बजेट पुगेन भन्छौँ, तर खर्च गर्न सक्दैनौँ, यसमा विविध कारण छन्”, उनले भने्, “समन्वय र सहकार्यको संस्कृति बढाउनुपर्छ ।” अन्तरमन्त्रालय समन्वय सहजीकरण भए निर्धारित लक्ष्य तोकिएको समयमै भेट्न सकिने उनको भनाइ छ ।