भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म विश्राम लिन्नौं : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताए । सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसङ्ग उठाउँदै भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका हुन् ।

शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको कार्यक्रममा लामिछानेले आफूमाथि जतिसुकै मुद्दा लगाइएपनि, घेराबन्दी गरेपनि भ्रष्टाचारविरुद्ध पार्टीको अभियान नरोकिने बताएका छन् ।

‘कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढछौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला । कत्रो सजाय भोग्नुपर्छ होला । मलाई थाहा छैन । तर मलाई मतलब छैन’ उनले भने, ‘किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइनन् । भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दाबाद भन्न अरू कुनै पार्टी नभएर होइन । नेपाली जनतालाई भोट हाल्नका लागि अरू कुनै चिन्ह नभएर होइन । नेपाली जनताले यो भ्रष्टाचार चाहिँ निर्मूल पार्नुपर्‍यो भनेर घण्टी बजाएका हुन्, यो कुरा हामीले बुझेका छौँ ।’

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गरेको बताए ।