मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा पनि आफुलाई विभिन्न आरोप लगाएको भन्दै सामाजिक सञ्जाल मार्फत्  आक्रोश पोखेका छन् ।

पशुपतिको अचल सम्पत्तिको रूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकामा पर्ने जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाविक गर्न खोजिएको भन्दै प्रश्न उठिरहेको समयमा उनले यस्तो आक्रोश पोखेका हुन् ।

हालसाविक गर्न खोजिएको जग्गा मन्त्री किरातीकै निर्देशनमा हुन लागेको भन्दै टिप्पणी हुन थालेपछि उनले घुस नखाँदा र नखुवाउँदा लाञ्छित गर्न खोजिएको बताएका हुन्।

‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिनँ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।