कालोपत्रे नभएको भन्दै स्थानीयले गरे सडक बन्द

काठमाडौँ । सडक कालोपत्रे नभएको भन्दै काठमाडौँ बौद्धका स्थानीयले सडक अवरुद्ध गरेका छन् । उनीहरूले लामो समयदेखि सडक कालोपत्रे नभएपछि बौद्ध-साँखु सडकखण्डमा पर्ने नारायणटारदेखि दक्षिण ढोकासम्मको मुख्य सडक अवरुद्ध गरेका हुन् ।

उक्त सडकखण्ड दुई दिनदेखि अवरुद्ध पारिएको छ । तोकिएको समयभित्र सडक निर्माण सम्पन्न नगरिएपछि सडक बन्द गर्न बाध्य भएको स्थानीयहरूको गुनासो छ । उनीहरूले बिहानदेखि नारायणटार पुलदेखि दक्षिण ढोकासम्म दुवैतर्फका सवारी आवागमन रोकेका छन् ।

यसअघि जेठ १० गतेभित्र निर्माण गरिसक्ने सहमति गरेपनि पालना नभएको जनाउँदै उनीहरूले सडक अवरुद्ध पारेका हुन् । केही महिनाअघि पनि सडक निर्माण तोकिएको समयमा पूरा नगरेको भन्दै जोरपाटीदेखि साँखुसम्मका स्थानीयले पटकपटक सवारी आवागमनमा अवरोध पुर्‍याएका थिए ।