चोरी गर्ने नक्कली पत्रकार प्रहरी फन्दामा

काठमाडौं । आफूलाई पत्रकारको रुपमा चिनाउँदै चोरी कार्यमा संलग्नहरु प्रहरी फन्दामा परेका छन् । एपी वन टेलिभिजनको प्रेस कार्ड भिरेर चोरी गर्दै आईरहेका तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रेसको कार्ड भिरेर ल्यापटप, आइप्याड लगायतका सामान गरी चोरी गरेको अभियोगमा ३ जनालाई काठमाडौं महानगरपालिका–७ चाबहिल भत्केको पुलबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं धुम्बाराही बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका–१४ घर भएका आश्रय रिजाल हिमाल, हम्मे भन्ने २१ वर्षीय हिमाल रसाईली र काठमाडौं ओमबहाल बस्ने बारा बड्की फुलबारी गाउँपालिका–३ घर भएका २८ वर्षीय अलि आलम मिया रहेको प्रहरीले जनाएको छ ।

गत चैत ३ गते काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एरेर ५१ बोइज होस्टेलबाट ४ थान ल्यापटप र गत चैत २४ गते काठमाडौं महानगरपालिका–७ चावहिल भत्केको पुल बस्ने डा।सुविन मानन्धरको ल्यापट तथा आइप्याड चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई चोरीका सामान सहित पक्राउ गरेको हो ।