नायव सुब्बा र कानून व्यवसायी हातपात प्रकरणमा घटनाले लिदैछ चर्को रुप

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कानून व्यवसायी अमिर लामिछानेले हातपात गरेको घटनाले चर्को रुप लिएको छ। यता कानून व्यवसायीहरुले भने नासु प्रेमिकाले आदेशको फाइल हेर्न घुस मागेको आरोप लगाएका छन्।

ललितपुर बार अध्यक्ष राम श्रेष्ठले सेवा लिन जाने कानून व्यवसायीमाथि नै मुक्का प्रहार गरेको आरोप लगाए।

उनले भने, ‘लेनदेनको कुरा उहाँले गर्नुभएको छ। त्यसमा सहमत नभएपछि उल्टै हाम्रो कानून व्यवसायीमाथि यो घटना बाहिर आएको अवस्था छ। यो घटनालाई तत्काल न्यूनिकरणका लागि हामीले प्रशासनसँग अदालतसँग सम्पर्कको कोसिस गर्यौं। तर, त्यो दिन सम्पर्क हुन सकेन। १५ गते हामीले अदालत प्रशासन, बार एसोसियसन, स्वम पीडितसँग बसेपछि सहमति नजिक पुग्दैथियौं।’

प्रेमिकालाई बाहिरको व्यक्ति आएर लगेपछि कुरा विग्रिएको उनको भनाइ छ। तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका लामिछाने भने छुटिसकेका छन्।

नासु प्रेमिकाले आदेश हेर्न घुस मागेको भन्दै कानून व्यवसायीहरूले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगरी आन्दोलनमा उत्रिएका हुन्।