अन्तरजातीय विवाह गरेको भन्दै केटाको घरमा आगो लगाउनेविरुद्ध मुद्दा दर्ता

काठमाडौं । जुम्लामा आफ्नी बहिनीलाई भगाएर बिहे गरेको निहुँमा दलित समुदायका केटाको घरमा आगजनी गर्ने हिम्मत गिरीविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । अन्तरजातीय विवाह गरेकै कारण जातीय भेदभावपूर्ण बदला लिने उद्देश्यले घरमा आगजनी गरिएको भन्दै जिल्लाका दलित अधिकारकर्मी र संघसंस्थाहरूले दबाब बढाएपछि प्रहरीले आगो लगाउने गिरीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

तातोपानी गाउँपालिका–४ का गिरीले आइतबार बिहान ४ बजे सोही गाउँमा रहेको केटाको घरमा आगो लगाइदिएका थिए । उनलाई प्रहरीले आइतबारै नियन्त्रणमा लिएको थियो ।

त्यसक्रममा उनले आफूले रिसको झोंकमा आएर आगो लगाएको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् । उनीविरुद्ध ‘आपराधिक उपद्रव र जातजातिका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार कसुर’मा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक राजु सार्कीले जानकारी दिए ।

दुई वर्षको प्रेम सम्बन्धपछि एकै गाउँका मुकुन्द नेपाली र बसन्ती गिरीले भागेर विवाह गरेका थिए । उनीहरूले भागेर विवाह गरेको ४ दिनपछि केटीका दाजु हिम्मतले मुकुन्दको घरमा आइतबार बिहान आगो लगाइदिएका हुन् । घरमा कोही नभएका कारण मानवीय क्षति नभएपनि घर पूर्णरुपमा जलेको छ ।

अन्तरजातीय विवाह गरेकै कारण केटाको परिवारको सर्वस्व माँस्ने र ज्यानसमेत जोखिममा पार्ने गरी घरमा आगो लगाइएको भन्दै जुम्लाका दलित संघसंस्था र अधिकारकर्मीले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

दलित सेवा संघ जुम्लाका अध्यक्ष भीमबहादुर सार्कीले अन्तरजातीय विवाह गरेकै कारण केटाको घरमा आगो लगाउनु जातीय भेदभाव र छुवाछुतको जघन्य कसुर भएको बताएका छन् । संघले ज्यान मार्ने उद्देश्यले घरमा आगो लगाइएको दाबी गर्दै कडा कारबाही र आगजनीका कारण नष्ट भएको चल, अचल सम्पत्तिको मूल्यबराबरको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।

संघले आइतबार विज्ञप्ति जारी गर्दै गिरीले मुलुकी अपराध संहिता, २०७४ र जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर सजाय ऐन २०६८ विपरीत कसुर गरेको भन्दै त्यसअनुसार मुद्दा दर्ता गरी कानुनी कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराएको थियो । अधिकारकर्मीहरूले प्रहरीले दोषीमाथि कारबाही अघि नबढाए विरोधमा उत्रिन बाध्य हुनुपर्ने भन्दै चेतावनीसमेत दिएका छन् ।